Central Department of Nepalese History, Culture and Archaeology

University Campus

Kirtipur, Kathmandu, Nepal

नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका दुई विद्यार्थीलाई परिषद्को छात्रवृत्ति

नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका दुई विद्यार्थीलाई परिषद्को छात्रवृत्ति

2024-07-10

२६ असार, काठमाडौँ । सांस्कृति अध्ययन तथा अनुसन्धान परिषद् नेपालले त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागमा स्नातकोत्तर अध्ययनरत दुईजना विद्यार्थीलाई चारै सेमेस्टरका लागि छात्रवृत्ति प्रदान गरेको छ।

केन्द्रीय विभागमा अध्ययनरत दुई विद्यार्थीलाई स्नातकोत्तर तह अध्ययन गरुञ्जेलको शुल्क प्रति विद्यार्थी ३७ हजार ५ सय रूपैयाँ छात्रवृत्ति प्रदान गरिएको परिषद्का महासचिव एवं वरिष्ठ लोकगायक वैकुण्ठ महतले जानकारी दिनुभयो । उहाँले बुधबार विभागमा एक समारोहका बीचमा सांस्कृति अध्ययन तथा अनुसन्धान परिषद् नेपालका अध्यक्ष एवं वरिष्ठ लोक गायक वमबहादुर कार्कीले छात्रवृत्ति रकमको चेक विभाग प्रमुख सहप्राध्यापक डा महेशकुमार आचार्यलाई हस्तान्तरण गर्नुभएको महासचिव महतले बताउनुभयो ।

नेपाली संस्कृति, इतिहास तथा पुरापरिषद्का अध्यक्ष कार्कीले पहिलो छात्रवृत्ति स्नातक तहमा सर्वाधिक अङ्कका साथ उत्तीर्ण भएर स्नातकोत्तर तहमा अध्ययनका लागि केन्द्रीय विभागमा भर्ना भएका प्रमिला बोहरा र श्यामकुमार श्रेष्ठलाई प्रदान गरिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले यस्तो सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा अरूका लागि पनि सहयोग गर्न बाटो खुलोस भनेर चेक हस्तान्तरण गरिएको बताउनुभयो ।

परिषदका अध्यक्ष कार्कीले सांस्कृतिक कर्मलाई त्रिविको संस्कृति विषयका प्राज्ञिक कर्मसँग जोड्न छात्रवृत्ति प्रदान गरिएको बताउँदै यसको अध्ययन र अनुसन्धानमा अरूलाई उत्प्रेरित गर्न राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा विभागीय प्रमुख सहप्राध्यापक डा आचार्यले समाजको अनुहार मानिने संस्कृति विषय पठनपाठनमा छात्रवृत्तिले थप आकर्षण बढाउने बताउनुभयो । उहाँले यस्ता सहयोगहरूले विद्यार्थीहरूमा समेत नयाँ उत्साह थप्ने बताउनुभयो । आचार्यले विभागअन्तर्गत हाल ४० जना विद्यार्थी स्नातकोत्तर तहमा अध्ययनरत रहेको र करिब ५० जनाले विद्यावारिधि गरिरहेको बताउनुभयो । विभागले अहिले स्नातकोत्तर तहका उत्कृष्ट शोधार्थीलाई बालकृष्ण रिजाल स्मृति छात्रवृत्तिसमेत प्रदान गरिरहेको छ ।

प्राध्यापकदेखि कलाकारसम्म एकै फोरममा रहेर काम गर्न मिल्ने गरी एक वर्षअघि सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् स्थापना भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट कानुनी मान्यता प्राप्त गरेको संस्थाको अध्यक्षमा वरिष्ठ लोकगायक बमबहादुर कार्की रहेका छन । यस्तै परिषद्को वरिष्ठ उपाध्यक्षमा विष्णु खत्री, उपाध्यक्षमा राजु परियार, महासचिवमा वैकुण्ठ महत, सचिवमा केशरी घर्तीमगर, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, खड्ग बुढा, शिव आले र प्रा डा ऋषिराम शर्मा, कमलीकान्त भेटवाल, रामप्रसाद कडेँल, मनोजसिंह धामी र नरहरि प्रेमी रहेका छन ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार २३:३६

नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका दुई विद्यार्थीलाई परिषद्को छात्रवृत्ति